मेरा आँखामा एमालेका अवगुण
घनश्याम भुसाल
नेता, नेकपा एमाले
तीसका दशकमा म बुटवलमा स्कुल पढ्दै थिएँ । त्यतिवेला बुटवलमा मण्डलेहरूको जगजगी थियो । त्यो दीपक बोहराहरूको जवानीको कालखण्ड थियो । उनीहरू जे मन लाग्यो, त्यही गर्थे । यसले गर्दा मण्डलेबाट प्रताडित जनताहरू उनीहरूविरुद्ध विस्तारै संगठित हँुदै थिए । त्यसैको प्रभावले हामी विद्यार्थीमा पनि मण्डलेहरू खराब हुन् भन्ने मनोविज्ञानको विकास भयो । मेरो साहित्यमा विशेष अभिरुचि थियो । शोषित, पीडित जनताको पक्षमा लेखिने प्रगतिशील साहित्य नै राम्रो साहित्य हो भन्ने बुझाइको विकास भइरहेको थियो । म भेटेसम्मका प्रगतिशील पुस्तक पढ्थेँ । त्यहीवेला मैले पुष्पलाल श्रेष्ठले लेख्नुभएको ‘नयाँ जनवादी संस्कृति’ पुस्तक पढेँ । त्यसले मलाई ज्यादै प्रभावित बनायो ।
बुटवलमा पहाडबाट तराई झरेकाहरूको धेरै जमिन हुन्थ्यो । त्यहाँ हरूवा, चरुवा धेरै थिए । कम्युनिस्टले यस्ता हरूवा-चरूवालाई माया गर्छ, साम्यवाद यस्तै शोषित-पीडित र निर्धाका हितमा काम गर्ने राजनीतिक व्यवस्था हो भन्ने पुस्तकमा पढेको थिएँ । ०३५ सालतिरको कुरा हो । मैले पहिलोपटक हरूवा-चरूवालाई कम्युनिस्ट शासनबारे प्रशिक्षण दिएँ । त्यसवेला मैले भाषणमा भनेको कुरा मलाई अहिले पनि सम्झिरहेको छु, ‘हामी सामाजिक रूपमा विभाजित छौँ । तर, साम्यवाद आएपछि तपाईंहरूले आठ घन्टा बुटवलमा काम गर्नुहुन्छ, तपाइर्ंहरू भैरहवाबाट जहाज चढेर काठमाडौं जानुहुन्छ, भोलि त्यहीँ काम गर्नुहुन्छ । फेरि विराटनगर या अर्को कुनै ठाउँमा जानुहुन्छ । जहाँ गए पनि काम र माम दुवै पाइन्छ । कसैको मेरो भन्ने हुँदैन, हाम्रो भन्ने मात्रै हुन्छ ।’ कम्युनिस्ट व्यवस्थाबारे मेरो बुझाइ पनि यस्तै थियो । यही बुझाइले ०३५ सालमा म तत्कालीन नेकपा मालेमा संगठित भएँ । मेरो राजनीतिक यात्रा त्यहीँबाट सुरु भयो । र, त्यसयता म पार्टीभित्रका अनेक उतार-चढाव र सद्गुण-दुर्गुणको बीचबाट अहिलेको भूमिकासम्म आइपुगेको हुँ ।
सिद्धान्त विकासमा समस्या
एमालेका तत्कालीन महासचिव मदन भण्डारीले ०४८ सालमा ‘बहुदलीय जनवादबारे केही कुरा’ शीर्षकमा एउटा सानो पुस्तिका प्रकाशन गरेका थिए । यसको विषयवस्तुमा पार्टीभित्र र बाहिर व्यापक बहस भयो । अन्ततः ०४९ सालको पाँचौँ अधिवेशनले ‘जनताको बहुदलीय जनवाद’ नेपाली क्रान्तिको कार्यक्रम भनेर संस्थागत गर्यो । नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ सिद्धान्तको जन्म हुन पुग्यो । सिद्धान्त भनेको अरूलाई बुझाउँदै जाँदा आफूले पनि बुझ्दै जाने कुरा रहेछ । आफूले बुझ्दै जाने भनेको अरूलाई पनि बुझाउँदै जाने हो । यदि, कसैले कुनै सिद्धान्त म आफैँ मात्रै बुझ्छु अरूलाई बुझाउँदिनँ भन्यो भने त्यस्तो सिद्धान्तले किमार्थ काम गर्दैन । सिद्धान्तको विकास भनेकै आफूले बुझ्नु र अरुलाई बुझाउनु हो । बुझ्ने/बुझाउने प्रक्रियामा अरूले प्रश्न उठाउँछन् । त्यसपछि त्यसको समधान खोजिन्छ । कसैले यो उत्तर वा समाधान हो भनेर दाबी गर्छ । कसैले फेरि पनि प्रश्न उठाउँछन् । प्रश्न गर्दै जान्छ, उत्तर खोज्दै जान्छ । यसरी एउटा सिद्धान्त निरन्तर विकसित हुँदै जान्छ ।
तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई एमालेको पाँचौँ अधिवेशनले नेपाली क्रान्तिको कार्यक्रम भनेर संस्थागत त गर्यो । तर, विडम्बना ! एमालेले जबजलाई संस्थागत गरेको चार महिना नबित्दै यस विचारका प्रतिपादक मदन भण्डारीको निधन भयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समाजवादको पराजय भइरहेको अवस्थामा एमालेमा यस्तो ‘चिज’ फेला पर्योे । त्यो कम्युनिस्ट आन्दोलनका लागि नवीन र मौलिक सिद्धान्त थियो । एमालेले ‘जबज’लाई दुनियाँलाई बुझाउन खोजेन । बुझाउन नखोजेपछि दुनियाँले प्रश्न गरेनन् । प्रश्न नगरेपछि कुनै उत्तरको खोजी गर्नु परेन । ‘जबज’ सिद्धान्तबारे जवाफ दिन नपरेपछि उत्तरको खोजी गर्नु परेन । उत्तर दिनु नपरेपछि सिद्धान्त विकसित भएन । अरूलाई बुझाउनु नपरेपछि हामीले पनि बुझ्न सकेनौँ । र, जनताको बहुदलीय जनवादबारे हामी आफैँ अन्योल र द्विविधामा पर्यौँ । जसले जति बुझ्यौँ, सबैले आ-आफ्नो तरिकाले र आफूअनुकूल व्याख्या गर्दै गयौँ । यसैले हामीले ‘जबज’ राम्ररी स्थापित गर्न सकेनाँै । कुनै पनि सिद्धान्त अरूलाई बुझाउन नसक्नु आफैँले नबुझ्नु हो । एमालेमा यस्तै भइदियो । सिद्धान्तको पाटोमा एमालेको अवगुण या कमजोरी भन्नु नै आफ्नो सिद्धान्त अरूलाई बुझाउन नसक्नु हो । सिद्धान्त राम्रो छ । तर, हामी ‘राम्रो छ’ भनेर मात्रै बस्यौँ । यी-यी कारणले राम्रो छ भनेर बुझाउन खोजेनौँ वा सकेनाँै । यी कारणले राम्रो छ भन्न नसक्नु आफँैले बुझ्न नसक्नु हो । यो नेकपा -एमाले)को प्रमुख अवगुण हो ।
यता एकथरीका हाम्रा साथीहरू मदन भण्डारी अहिलेसम्म बाँचेका भए ‘जबज’ कस्तो हुन्थ्यो या यस्तो-उस्तो हुन्थ्यो भनेर पनि तर्क गर्छन् । यो बढी मनोगत प्रश्न हो । कस्तो हुनुपर्छ भन्नेचाहिँ वस्तुगत प्रश्न हो । मनोगत प्रश्नतिरै हामी घुमिरह्यौँ र वस्तुगत प्रश्नको उत्तर खोज्नेतिर कुनै प्रयास गरेनौँ । यो अर्को अवगुण हो ।
सत्तामुखी कार्यनीति
एमालेले जनसंघर्ष र जनमतको बलमा ०५२ मा सरकार बनायो । सरकारमा गएपछि केही नयाँ र जनमुखी कार्यक्रम ल्यायो । नौमहिने शासनकालका धेरै कार्यक्रम लोकपि्रय बने । त्यसले पार्टी पनि लोकपि्रय बनेको थियो । एमाले जब सरकारबाट हट्यो, उसले सरकारमा गएपछि मात्रै लोकपि्रय बनिँदोरहेछ भन्ने गलत बुझ्यो । एमाले जनसंघर्षका बलमा सरकारमा गएका हो भन्ने तथ्य भुलेर क्रमशः सत्तामुखी र जनविमुखी बन्न पुग्यो । जनसंघर्षबाट होइन, सत्ताबाटै सबै कुरा गर्न सकिन्छ भन्ने बुझाइले एमालेका कार्यशैली, काम गर्ने तौरतरिका, आन्दोलनको स्वरूप र कार्यकर्ताको व्यवस्थापनमा पनि परिवर्तन गर्यो र संगठनलाई सत्ताको वरिपरि केन्दि्रत गरायो ।
यही गलत बुझाइले गर्दा एमालेले कहिले राप्रपासँग मिलेर सरकार बनायो, कहिले राजासँग मिलेर सरकार बनाउन पुग्यो । जनसंघर्षबाट होइन, सत्ताबाट लोकपि्रय भइन्छ भन्ने भ्रमले गर्दा संघर्ष छाडेर तत्कालीन राजा ज्ञानेन्द्रसँग मिलेरसमेत सरकार बनायो । निरकंुश राजासँग मिलेर पनि सरकार बनाउनु सत्ताप्रतिको गलत बुझाइ थियो ।
कसरी राम्रो संगठन बनाउने ? कसरी संगठनलाई व्यवस्थित बनाउने ? जनसंघर्षमा कसरी जाने ? जस्ता मुद्दाको सट्टा कसरी सत्तामा जाने भन्नेतिर मात्रै ध्यान गएपछि व्यवस्थित तरिकाले निर्माण भएका संगठन क्रमशः कमजोर बन्दै गए । पार्टी जब सत्ताको वरिपरि घुम्न थाल्यो, त्यसपछि सामाजिक परिचालनका तमाम क्षेत्र- मजदुर, महिला, पिछडिएको जाति, क्षेत्र आदि पार्टीको स्पर्शबाट बाहिर पर्दै गए । एमाले र ती वर्ग, क्षेत्र, लिंग, जातिको बीचको दूरी झन् टाढिँदै गयो । संगठन फराकिलो हुनुको साटो खुम्चिँदै गयो ।
अध्ययनको अपव्याख्या र गुटबन्दी
कुनै वेला किताबी कीरा भनिएका एमाले कार्यकर्ता र नेताहरूले विस्तारै-विस्तारै अध्ययन गर्नै छाडे । एमाले नेता-कार्यकर्ताको अर्को मुख्य कमजोरी भन्नु अध्ययन गर्न छाड्दै जानु हो । यो आरोप होइन, यसमा सत्यताको ठूलै अंश छ । एमाले कार्यकर्ता केही पनि अध्ययन गर्दैनन् भन्ने होइन । अध्ययनै नगरी त कोही मान्छे बस्नै सक्दैन । तर, उसले कस्तो अध्ययन गर्छ त ? कसैले सत्ताको अध्ययन गर्छ, कसैले व्यापारको । कसैले समाज र क्रान्तिको । लेनिनभन्दा अघिका रुसी विद्वान प्लेखानोभले भनेका थिए, ‘क्रान्तिकारी सिद्धान्त नभईकन क्रान्ति हँुदैन ।’ पछि लेनिनले पनि यसलाई जोड-जोडले उठाए । हामीले पनि त्यही सिको गर्यौँ । कुनैवेला हामीले मदन भण्डारीको भनाइ भन्दै गलत व्याख्या गर्यौँ- ‘सिद्धान्तको रंग खैरो हुन्छ, जीवनको रंग हरियो ।’ अनि हामीले ‘सिद्धान्तले जीवनलाई पछ्याउनुपर्छ,’ भन्ने व्याख्या गथ्र्यो । कस्तो जीवन त ? समग्र मानवीय जीवन र सामाजिक जीवन हुनुपथ्र्यो । तर, हाम्रो व्याख्याले ‘मेरो जीवन र मेरो गुटको जीवन’लाई मात्रै जीवन ठान्न थाल्यो । गुटबन्दी राजनीतिक एजेन्डामा छ भने राम्रै हुन्छ । तर, निहित स्वार्थमा आर्धारित गुटबन्दीले पार्टीलाई कमजोर बनाउँछ । आफ्ना निहित स्वार्थलाई सिद्धान्तको राजनीतिक जलप लगाउने गुटले एमालेलाई कमजोर बनाउँदै लगेको छ । यस्तो गुटबन्दीले सचेत र जागृत मान्छे निर्माण गर्दैन । केवल गुटका मान्छे निर्माण गर्छ । जब गुट बलियो हुँदै जान्छ, पार्टी कमजोर बन्दै जान्छ । गुट कमजोर भए मात्रै पार्टी बलियो हुन्छ । अहिले गुट बलियो र पार्टी दुब्लाउँदै छ । सिद्धान्तले मेरा स्वार्थ र मेरो गुटको हितलाई पछ्याउनुपर्छ, म जे गर्छु त्यही हो सिद्धान्त भन्ने सोच्न थाल्यौँ । गुटका मागलाई नै सिद्धान्त भन्नेतिर गयौँ । चुनाव जित्न के-के ट्याक्टिस अपनाउनुपर्ने हो, त्यही भयो हाम्रो सिद्धान्त । क्रान्तिकारी सिद्धान्तविना क्रान्ति हुँदैन भन्ने हामी पछि सिद्धान्तको रंग खैरो र जीवनको रंग हरियो भन्दै सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हो भन्नेतिर निष्कर्षतिर पुग्यौँ । खासमा यी दुई मान्यतामा आकाश र जमिनको फरक थियो । यिनै कारणले हिजो समाज, क्रान्ति र सिद्धान्तबारे बढी अध्ययन गर्ने एमाले नेता-कार्यकर्ता अहिले आफ्नो मात्रै जीवन र आफ्नै मात्रै गुटको कुरा गर्छन् । आफ्नो जीवन र गुटको जीवनको अध्ययन गर्न थालेपछि उनीहरूले क्रान्तिको जीवनबारे अध्ययन गर्न छाडिदिए ।
नेपालमा धेरै अध्ययन गर्ने भनिएको कम्युनिस्ट पार्टी पनि छ । तर, त्यो उग्रवादको पाठशाला हो । त्यहाँ उग्रवादको चण्डी खरर-सरर कण्ठ गर्ने मान्छे बग्रेल्ती छन् । उनीहरूलाई वाफ रे वाफ ! यो त प्रकाण्ड विद्वान्हरूको पाठशाला पो हो कि भन्ने पनि लाग्न सक्छ । तर, त्यो चण्डी पाठ मात्रै हो । चण्डीमा देवीको स्तुति र भक्तिसिवाय केही हुन्न । त्यसले सिद्धान्तको सिर्जना गर्दैन । स्तुतिमा जीवन्त सिद्धान्त हुँदैन, स्तुति मात्रै हुन्छ । उनीहरूले माक्र्स पढेका छैनन्, लेनिन घोकेका छैनन् । लेनिन वा माक्र्सको स्तुति मात्रै गर्दै छन् । स्तुति विज्ञान होइन । चण्डी पाठ घोक्ने बटुहरू प्रकाण्ड विद्वान् होइनन् ।
पाखण्ड जीवनशैली
हिजो कम्युनिस्ट नेताहरू सरल जीवनको कुरा गर्थे र त्यस्तै जीवन बाँच्थे पनि । आज उनीहरू कुरा त सामान्य जीवनको गर्छन्, तर जीवनशैली नितान्त फरक छ । यो पाखण्डी कुरा हो । राम्रो लगाउनु वा खानु मात्रै त बुर्जुवाकरण होइन । तर, जसले क्रान्ति र श्रमजीवीको कुरा गर्छ वा मुक्तिको भाषण गर्छ, उही उत्पादक काममै नलागी कमाउने, विलासी साँझ-बिहान बाँच्ने गर्छ भने ऊ पाखण्डी हो । अहिले यस्तो पाखण्डीपन कम्युनिस्ट पार्टीमा बढ्दो छ । यो पाखण्डबाट एमालेका नेता-कार्यकर्ता पनि अछुतो रहन सकेका छैनन् ।
पार्टीभित्र क्रान्तिकारी हुँ भन्नेहरू नै अहिले पाखण्डी छन् । करणी र कथनीमा फरक छ । मान्छेको जीवनशैली बन्दै जाँदा उसको सोच्ने शैली पनि बदलिन्छ । श्रम नगरी कमाएको सम्पत्तिबाट सुखी हुँदै जानेहरूको धनी हुने महत्त्वाकांक्षा झन् बढ्दै जान्छ र पाखण्डीपन पनि बढ्दै जान्छ । त्यसपछि उसले आफ्नो निजी पाखण्डीपनलाई राजनीतिक रंग दिने प्रयत्न गर्छ । सिद्धान्तको रंगले आफ्नो पाखण्डलाई ढाकछोप गर्छ । अनि महत्त्वाकांक्षालाई पूरा गर्न गुट बनाउँछ र गुटले उसका पाखण्डलाई महानताको जलप लगाइदिन्छ । यो एउटा आमविज्ञानजस्तो बनिरहेको छ । यस्तो प्रवृत्तिबाट एमाले पनि टाढा रहेको छैन । यो एमालेको अर्को अवगुण हो ।
नीति बुझ्ने समस्या
राष्ट्रिय राजनीतिमा एमाले कहिल्यै पनि आफैँ निणर्ायक शक्ति बन्न सकेन र सधैँ अर्काको निणर्यमा सहयोगी मात्रै रह्यो । एमालेको एउटा कमजोर पक्ष यो पनि हो । यसो हुनुमा ‘जबज’मा एक साथ रहेका दुईवटा सैद्धान्तिक कुराले पनि काम गरेको छ । एउटा प्रजातान्त्रिक प्रतिबद्धता र अर्को सामाजिक क्रान्तिकोे ध्येय । यी दुईवटै कुरा एक ठाउँमा राख्दा मात्रै जनताको बहुदलीय जनवाद हुन्छ । तर, यसलाई एकथरी साथीले प्रजातन्त्रीकरण मात्रै बुझे, कसैले सामाजिक क्रान्ति र प्रगतिको ध्येयलाई बुझे । सामाजिक क्रान्तिको ध्येयलाई मात्रै बुझ्नेहरू उग्रवादीजस्तो भइदिए र प्रजातान्त्रिक पाटो मात्रै बुझ्नेहरू दक्षिणपन्थीजस्ता देखिए । एमालले यी दुईवटै कुरालाई स्थापित गर्न सकेन । यदि, त्यसो गरेको भए उग्रवाद खतरा हो भन्ने ध्यान दिनेहरूले त्यसलाई नियन्त्रण गर्न ध्यान दिन्थे । दक्षिणपन्थ खतरा हो भन्नेहरूले त्यसलाई नियन्त्रण गर्न ध्यान दिन्थे । यसरी हामी एकसाथ दक्षिणपन्थ र उग्रवाद दुवैलाई नियन्त्रण गरिराखेका हुन्थ्यौँ । र, नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बन्थ्यो । तर, यस्तो हुन सकेन र पार्टीको एउटा पक्ष कांग्रेसजस्तो र अर्को माओवादीजस्तो देखिन थाल्यो । नीतिमै त समस्या थिएन । तर, नीतिलाई बुझेर त्यसलाई स्थापित गर्ने कुरामा ठूलो समस्या भयो ।
निजी सम्पत्ति उन्मूलन कम्युनिस्टको कार्यक्रम हो । तर, आज नेपालका कुनै कम्युनिस्टको पनि निजी सम्पत्ति उन्मूलन गर्ने कार्यक्रम छैन । आज क्रान्तिको यो ऐतिहासिक विकासको चरणमा निजी सम्पत्ति उन्मूलन हाम्रो प्राथमिक एजेन्डा त होइन । तर, त्यो नीति वा एजेन्डा होइन भन्नुको अर्थ जसरी पनि सम्पत्ति जोड्न भन्ने पनि होइन । निजी सम्पत्ति कसरी आर्जन गरिएको हो ? कसमेकम कर तिरेर, उत्पादक काममा लागेर, श्रम गरेर सम्पत्ति आर्जिंदै छ भने त्यो प्रगतिशील काम हो । उत्पादक क्षेत्रमा आफैँ सहभागी भएर भन्दा अनुत्पादक स्रोतबाट सम्पत्ति आर्जन गर्नेहरू कम्युनिस्ट पार्टीभित्र धेरै भए । एमालेले मात्रै होइन, अहिले सबै कम्युनिस्ट पार्टीले यसै गरेका छन् । उत्पादक क्षेत्रमा सहभागी हुनेभन्दा सिडिओ, एलडिओ र पुलिससँग गठबन्धन गरेर पैसा कमाउने, अर्काको फाइल बोकेर, खोला-खानी दर्ता गरेर, ठेक्का-पट्टामा तस्करी गरेर कमाउनतिर ध्यान दिँदा पार्टीलाई बेफाइदा गर्यो । यसमा पनि पार्टीभित्र ठूलो समस्या छ ।
युवा परिचालनमा समस्या
केही समयअघिसम्म एमालेभित्र युवा नै छैनन् भनिन्थ्यो । तर, दुई वर्षअघिको स्ववियु निर्वाचनको परिणामले सबैभन्दा धेरै शिक्षित युवा एमालेमा छन् भन्ने देखाउँछ । एमालेले ती युवालाई परिचालन गर्न नसक्नु पार्टीको कमजोरी हो । सत्तालाई महत्त्वपूर्ण र संगठनलाई गौण मानेपछि एमालेका युवाहरूको ध्यान पनि सत्ता र सुविधातिर मोडियो । एमालेभित्र युवा त छन्, तर पार्टीको समग्र हितको पक्षमा उनीहरूलाई परिचालन गर्न सकिएको छैन । जति परिचालित भए, ती पनि पार्टी जीवनको भन्दा कसैको गुटको जीवनका लागि परिचालित भए । सही रूपमा युवाको परिचालन हुन नसक्नु पनि एमालेको अर्को कमजोरी हो ।
सांस्कृतिक समस्या र एनजिओवाद
कुनै पनि पार्टीका लागि सांस्कृतिक क्षेत्र सबैभन्दा महत्त्वपूर्ण क्षेत्र हो । यस क्षेत्रमा नेकपा एमाले कमजोर छ । एमालेमा जनवादी संस्कृतिकर्मी नभएका होइनन्, धेरै थिए र अझै पनि धेरै संस्कृतिकर्मी सक्रिय छन् । तर, पार्टी बढी सत्तामुखी हुदै जाँदा संस्कृतिकर्मी पार्टीका लागि मूल्यवान् हुन छाडे । फलतः सांस्कृतिक क्षेत्रमा सस्ता किसिमका गीत र सिर्जना हावी हुँदै गए । यसले थुप्रै जनवादी संस्कृतिकर्मीलाई पलायनको बाटोमा पुर्याइदियो । सत्तामा पुगेपछि पार्टीलाई त्यो स्थानसम्म पुर्याउनका लागि महत्त्वपूर्ण भूमिका खेलेका जनवादी संस्कृतिकर्मीलाई भुल्नु एमालेको अर्को अवगुण हो ।
एनजिओ र आइएनजिओतिर बढी नै ध्यान दिनु एमालेको अर्को ठूलो समस्या हो । अधिकांश एनजिओ, आइएनजिओ कुनै न कुनै स्वार्थ लिएर मात्रै आउँछन् । उनीहरूको पछि लागेर काम गर्नु कुनै न कुनै हिसाबले उनीहरूको साधन मात्रै बन्नु हो । उनीहरूसँग सहकार्य गर्दा नजानिँदो तरिकाले एनजिओ सञ्चालकले पार्टीभित्र पनि आफ्नो विचारधारा लाद्दै जान्छन् । जब संगठनमा यस्तो विचारधारा पस्छ, अनि संगठन कमजोर हुदै जान्छ । नेपालका तमाम राजनीतिक संगठनको जस्तै एनजिओ एमालेको पनि प्रमुख समस्या हो । एनजिओ र आइएनजिओको प्रभावबाट पार्टीलाई मुक्त बनाउन नसक्नु एमालेको ठूलो कमजोरी हो । यसले पार्टीको आन्तरिक जीवनमाथि ठूलै आघात पारेको छ ।
